Saturday, November 7, 2026
Homeसामाचारमुस्ताङमा माटोबाट बनेको आकर्षक ‘मड रिसोर्ट’ सञ्चालनमा

मुस्ताङमा माटोबाट बनेको आकर्षक ‘मड रिसोर्ट’ सञ्चालनमा

मुस्ताङ । थासाङ गाउँपालिका–२ लार्जुङमा स्थानीय रूपमा पाइने ‘भ्रप्सा’ माटो प्रयोग गरी निर्माण गरिएको आकर्षक रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरेर यो अनौठो ‘मड रिसोर्ट’ निर्माण गरेका हुन्।

लामो समय काठमाडौंमा होटल व्यवसाय सञ्चालन गरेका शेरचनले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्गको सहज पहुँच भएपछि जन्मथलो फर्केर नयाँ ढङ्गको व्यवसाय सुरु गरेका हुन्। उनले थासाङ क्षेत्रमा पर्यटनको सम्भावना भए पनि स्तरीय आवास सुविधा नहुँदा ‘माटोको घर’ (मड रिसोर्ट) निर्माण गरेको बताए।

सन् २०२० बाट सुरु गरिएको निर्माण कार्य कोभिड–१९ महामारी र आन्तरिक कारणले केही समय रोकिएपछि हालै पूरा गरी सञ्चालनमा ल्याइएको हो। डाइनिङ हल र किचन कोठाबाहेक रिसोर्टमा सुविधा सम्पन्न १० कोठा रहेका छन्।

करीब दुई करोड ५० लाख लागतमा बनेको रिसोर्टमा छड, सिमेन्ट वा बालुवा प्रयोग नगरिकन केवल माटो प्रयोग गरिएको सञ्चालक शेरचनले बताए। उनका अनुसार विदेशी डिजाइन अध्ययन गरेर भूकम्प प्रतिरोधी र वातावरणमैत्री संरचना निर्माण गरिएको हो। पर्याप्त प्राविधिक जानकारी नहुँदा लागत केही बढेको पनि उनले बताए।

‘रिसोर्टका सबै कोठा माटोबाटै बनाएका हौं। यहाँ आउने पाहुनाले शान्त र सुन्दर वातावरणमा आराम पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो,’ शेरचनले भने, ‘समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइमा रहेको यो क्षेत्र बार्है महिना बस्न अनुकूल छ, त्यसैले यहाँ माटोको घर उपयुक्त ठानियो।’

उनका अनुसार रिसोर्ट नजिकै एड्भेन्चर अफिस, स्ट्रिम बाथ, कोशेली घर र अन्य ‘शो रुम’ थप्ने योजना पनि रहेको छ। रिसोर्टका कोठाहरूको बाहिरी भागमा हिमाली धार्मिक–सांस्कृतिक पहिचान, जैविक विविधता र पर्यटकीय स्थलहरू चित्रित गरी थप आकर्षक बनाउने तयारी गरिएको छ।

शेरचनले भने, ‘गाउँमा भइरहेको तीव्र विकासले मलाई यहाँ फर्काएको हो। मुक्तिनाथ दर्शन र कोरलातर्फ आउने पर्यटकको संख्याले यहाँको पर्यटन सम्भावना देखाएको छ। त्यसैले अब यहीँ बसेर फरक ढङ्गको होटल सञ्चालन गर्ने सोच बनाएको हुँ।’

थासाङ गाउँपालिकाभित्र टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, लुप्साङ खर्क र गुरुसाङ्वो गुफा जस्ता धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरू रहेका छन्। रिसोर्ट सञ्चालनमा आएपछि ती स्थानहरूको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

यहाँको कालिगण्डकी फाँटमा साहसिक मोटरसाइकल रेस र साइकल ट्रेल समेत रहेको हुँदा थासाङ क्षेत्र अहिले लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै गएको छ।

‘थासाङमा सम्भावना धेरै छ, तर विकासको हिसाबले यो क्षेत्र अझै पछि छ,’ शेरचनले भने, ‘रिसोर्टमार्फत गाउँको पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्य हो। अहिले नै पर्यटकबाट सकारात्मक प्रतिक्रिया पाउँदा थप उत्साह मिलेको छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका