Monday, June 8, 2026
Homeसुन्दर नेपालमुस्ताङको उपल्लो क्षेत्र भीषण बाढीको चपेटामा, छवटा पुलमा क्षति

मुस्ताङको उपल्लो क्षेत्र भीषण बाढीको चपेटामा, छवटा पुलमा क्षति

मुस्ताङ, असार २५: उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र भीषण बाढीको चपेटामा परेको छ। मङ्गलबार साँझ चुम्जुङ खोलामा करिब तीन घण्टा लगातार आएको लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बाढीले लोमान्थाङ–४ मा रहेको एक पक्की मोटरेबल पुल र लोमान्थाङ–२, साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की पुलमा क्षति पुर्‍याएको छ। साथै, बाढीले सो क्षेत्रका एक फलामे पुल र तीन वटा काठेपुल बगाएको प्रहरीले जानकारी दिएको छ।

चुम्जुङ खोलाको बीचमा सञ्चालित एक होटल र लोमान्थाङ–४ स्थित करिब ४०० मिटर टाढा रहेको न्याम्डो गाउँका दुई घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार बाढीबाट मानवीय तथा पशु क्षति भने नभएको पुष्टि गरिएको छ।

हाल बाढीको बहाव केही घटेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी बल बीओपी नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ९ जनाको टोली परिचालन गरिएको छ।

सुरक्षाकर्मीहरुले स्थानीय बासिन्दालाई सर्तक रहन सूचित गरेका छन्। जिल्ला प्रहरी कार्यालयले जोखिम टरिनसकेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका