मुस्ताङ — हिमाली जिल्ला मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको वास्तविक सङ्ख्या यकिन गर्न विस्तृत अध्ययन तथा अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा उक्त अध्ययन थालिएको हो।
बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या, उनीहरूको आहारा प्रजातिको अवस्था, मानव–हिउँ चितुवाबीचको द्वन्द्व तथा जलवायु परिवर्तनको प्रभाव बुझ्न क्यामेरा ट्यापिङ अध्ययन सुरु गरिएको हो।
गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका झोङ, पुडाक, छेङ्गुर र थोरङ्फेदीलगायत उच्च लेकहरूमा १५ वटा क्यामेरा जडान गरिएको छ। आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गतका स्याङ, मार्फा र चिमाङ गाउँ वरपरका उच्च लेकमा थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको छ।
बायोकोस नेपाल र एक्यापका प्राविधिक टोलीले हिउँ चितुवाको सम्भावित बासस्थानलाई केन्द्रमा राखी क्यामेरा जडान गरेका हुन्। ती क्यामेराहरू हिउँद यामभरि, करिब दुई महिनासम्म, लेक क्षेत्रमा राखिनेछन्।
बायोलोजिस्ट गुरुङका अनुसार दुई महिनापछि क्यामेराहरू झिकेर संकलित डाटाको विश्लेषण गरिनेछ र सम्पूर्ण प्रतिवेदन एक्यापलाई हस्तान्तरण गरिनेछ। बायोकोस नेपालले यसअघि अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न भागमा नाउर (ब्लु सिप) अध्ययनसँगै हिउँ चितुवाको पनि अनुसन्धान गर्दै आएको छ। मुस्ताङ जिल्लामा यस प्रकारको अध्ययन पहिलो पटक गरिएको उहाँले बताउनुभयो।
पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको पाइएको छ। जलवायु परिवर्तनका कारण उच्च लेकका चरनक्षेत्रमा घाँस पलाउन कम हुँदै गएको र पानीका स्रोत सुक्दै जाँदा नाउरलगायतका आहारा जनावर बस्ती र खोलानजिक झर्न थालेका छन्। आहारा पछ्याउँदै हिउँ चितुवा पनि बस्ती नजिक पुग्दा पशुपालकका गोठमा क्षति पुर्याउने घटनाहरू बढिरहेका छन्, जसले संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वमा थप चुनौती सिर्जना गरेको छ।


