बागलुङ — विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र ठेक्का लागेका तीन सडकहरूमध्ये मुलपानी–तितौरे नौ किलोमिटर सडकखण्डमा कालोपत्र सुरु गरिएको छ।
पहिलो चरणअन्तर्गत तितौरेदेखि दानविसौनासम्मको सडकखण्डमा कालोपत्र सम्पन्न भइसकेको छ। यसअघि गणेशथान घुम्ती–निरयघाट तथा ओढारचौर–ढोडेनी सडकखण्डमा समेत कालोपत्रको काम पूरा भइसकेको छ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक स्तरोन्नति र कालोपत्रका लागि विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय तहलाई अनुदान उपलब्ध गराएको हो। उक्त परियोजनाअन्तर्गत निर्माण व्यवसायीसँग ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको नगरपालिकाले जनाएको छ।


