Sunday, November 8, 2026
Homeसामाचारमुगुमा बालविवाह:जीवनभर समस्या

मुगुमा बालविवाह:जीवनभर समस्या

मुगु । मुगु छायानाथ रारा नगरपालिका–१४ बाम गाउँकी ३० वर्षीया माघी बुढाले १७ वर्षकै उमेरमा विवाह गरेकी थिइन्। अहिले उनी चार सन्तानकी आमा बनेकी छन्।

ग्रामीण क्षेत्रमा छोरीलाई विद्यालय पठाउने प्रचलन पहिले निकै कमजोर थियो। त्यसकै कारण माघीले पनि पढ्ने अवसर पाइनन्। मनमा रहर भए पनि उनको स्कुल पढ्ने सपना अधुरै रह्यो। अशिक्षा र सानैमा विवाहका कारण उनले शारीरिक तथा मानसिक समस्या खेपिरहेकी छन्।

माघी मात्र होइनन्, जिल्लामा यस्तै अवस्थाबाट पीडित धेरै महिला छन्। छायानाथ रारा नगरपालिका–१४ की जसमा बढुवाल १६ वर्षमै विवाह बन्धनमा बाँधिइन्। अहिले २९ वर्षकी जसमा तीन सन्तानकी आमा बनेकी छन्। उनले भने, “सानै उमेरमा विवाह गर्दा अहिले स्वास्थ्यमा गम्भीर समस्या आइरहेको छ। त्यतिबेला अल्लारे दिमागले भागेर बिहे गरेँ। अहिले मात्र बुझ्दै छु ठूलो गल्ती गरेछु।”

उनले तल्लो पेट दुख्ने, हात–खुट्टा दुख्ने, झमझमाउने, सेतो पानी बग्नेजस्ता समस्या भोगिरहेको बताइन्। पछुतो प्रस्ट छ– “त्यतिबेला आमाबुवाको कुरा सुनेको भए यस्ता समस्या झेल्नु पर्ने थिएन।”

बालविवाहका कारण धेरै महिलाले शिक्षा, बालअधिकार र भविष्यका सपना गुमाएका छन्। कतिपय अवस्थामा बच्चा जन्माउँदा जीवन नै गुमाउने घटना पनि हुन्छ।

छायानाथ रारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर खड्काका अनुसार पछिल्लो तीन वर्षमा मात्रै वडामा ६२ वटा बालविवाह दर्ता भएका छन्। समस्या नियन्त्रणका लागि वडाले अब सिफारिस बिना विवाह गर्न नपाउने नीति लिएको छ।

यसैबीच, कर्णालीका विभिन्न जिल्लामा कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) ले बालविवाह, छाउपडी, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर खस्ने समस्या आदिबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका कार्यकारी निर्देशक अज बहादुर शाहीका अनुसार अभियानको उद्देश्य युवायुवतीलाई अशिक्षा, स्वास्थ्य समस्या र हानिकारक प्रथाबाट मुक्त गर्दै समाजलाई सबल, सक्षम र स्वस्थ नागरिक दिनु हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका