Friday, May 8, 2026
Homeराजनीतिमुगुमा निर्वाचन खर्च विवरण: चार दलका उम्मेदवारले मात्र बुझाए हिसाब

मुगुमा निर्वाचन खर्च विवरण: चार दलका उम्मेदवारले मात्र बुझाए हिसाब

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै मुगुका सातमध्ये चार राजनीतिक दलका उम्मेदवारहरूले मात्र आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा सहभागी सात दलमध्ये प्रत्यक्षतर्फका चार जना र एक समानुपातिक उम्मेदवारले आफ्नो खर्च सार्वजनिक गरेका हुन्।

नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले चुनाव अवधिभरको कुल १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्। उक्त रकममध्ये प्रचारप्रसार सामग्री छपाइमा १ लाख ५० हजार, ढुवानीमा ७० हजार, गोष्ठी तथा जनसभा र कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, सवारी साधन (डिजेल–पेट्रोल) मा ७ लाख ४१ हजार र कार्यालय सञ्चालनलगायत अन्य विविध खर्च समावेश छन्।

नेपाली कांग्रेसबाट उम्मेदवार तथा निर्वाचित खड्गबहादुर शाहीले १३ लाख ११ हजार रुपैयाँ खर्च भएको बताएका छन्। उनले यातायात तथा इन्धनमा ३ लाख २५ हजार, खाद्यान्न तथा रासनमा १ लाख १० हजार, प्रचारप्रसारमा १ लाख ३५ हजार, नमुना मतपत्र छपाइ र मतदाता नामावलीमा ६२ हजार, मनोनयन दर्तामा १० हजार, प्रचार सामग्रीमा १ लाख ५० हजार, स्टेशनरी तथा सञ्चारमा ५० हजार, मतदाता प्रशिक्षणमा ६९ हजार, सचिवालय सञ्चालनमा १ लाख १० हजार र कोणसभा तथा अन्य विविध खर्चमा २ लाख ९० हजार खर्च गरेको विवरण दिएका छन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चन्द्रबहादुर शाहीले १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुवन टमटाले भने सबैभन्दा कम २ लाख ६० हजार रुपैयाँ मात्र खर्च गरेको विवरण बुझाएका छन्।

समानुपातिकतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की उम्मेदवार मिरा कुमारी मल्लले ४७ हजार ३०० रुपैयाँ खर्च विवरण बुझाएकी छन्।

जिल्ला निर्वाचन कार्यालय मुगुका प्रमुख कमलप्रसाद उपाध्यायका अनुसार खर्च विवरण बुझाउनेमध्ये सबैभन्दा कम खर्च भुवन टमटाको रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका