Sunday, November 8, 2026
Homeसामाचारमुख्यसचिव अर्याल : “आर्थिक समृद्धि साझा एजेन्डा, सरकार–निजी क्षेत्र सहकार्य अनिवार्य”

मुख्यसचिव अर्याल : “आर्थिक समृद्धि साझा एजेन्डा, सरकार–निजी क्षेत्र सहकार्य अनिवार्य”

काठमाडौँ, २ भदौ। मुख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि सबै सरोकारवालाको साझा एजेन्डा भएकाले यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा आइतबार काठमाडौँमा आयोजित ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उहाँले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।

“आर्थिक विकासको मुख्य चालक निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो,” मुख्यसचिव अर्यालले भन्नुभयो, “पुराना ऐनलाई समयसापेक्ष संशोधन गर्दै ‘प्रोसेस–ओरिएन्टेड’ प्रणालीलाई निर्मूल गर्नुपर्छ।”

उहाँले सार्वजनिक खरिद प्रक्रियाका कारण विकास निर्माण कार्यक्रमले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धामा उभिन सुझाव दिनुभयो।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयनको प्रभावकारिता, नीतिगत समस्या समाधान, पूर्वाधार विकास, ऊर्जा, कृषि र पर्यटन क्षेत्रमा अघि बढाउनुपर्ने कदमबारे आ–आफ्ना धारणा प्रस्तुत गरे।

सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाएर स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न सकिने र त्यसमार्फत दिगो विकासलाई तीव्रता दिन सकिने बताउनुभयो। सेजनका महासचिव विश्वास रेग्मीले बजेट कार्यान्वयन र प्राथमिकताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका