आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि आज पुन बैठक बस्न लागेको हो ।
काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बुझिएको छ ।
आज महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने मन्त्री कार्कीको दाबी छ । महानगरभन्दा उपमहानगरको सिट बाँडफाँट थप पेचिलो छ ।


