मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि आफ्नी छोरी तिलमाया सार्कीको शवको प्रतीक्षामा छिन्। छोरीको हत्या भएको खबर सुनेदेखि उनको आँखाबाट आँसु रोकिएको छैन।
गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन तिलमायाले मलेसियाबाट आमासँग अन्तिम फोन गरेकी थिइन्। त्यसको एक हप्तापछि आएको अर्को फोनले आमाको संसार नै उजाड बनायो— २५ वर्षीया तिलमायाको हत्या भएको खबर आयो। त्यसयता धनमाया छोरीको शव नेपाल ल्याउने प्रयासमा दिनरात संघर्ष गरिरहेकी छिन्।
तिलमाया श्रीमान्सँग सम्बन्धविच्छेद गरेपछि छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया गएकी थिइन्। हत्या भएको १० महिना बितिसक्दा पनि न शव आएको छ, न राहत रकम नै। आमाले शव ल्याउन वडा कार्यालयदेखि नगरपालिकासम्म धाइसकेकी छिन्, तर अझैसम्म कुनै सुनुवाइ भएको छैन।
कागजी प्रक्रिया पूरा भए पनि सुनुवाइ शून्य
शव झिकाउन आवश्यक सम्पूर्ण कागजात तयार गरी मलेसिया पठाइएको भए पनि कुनै प्रतिक्रिया नआएको धनमायाको गुनासो छ। “१० महिना बितिसक्यो, तर न शव आयो, न राहत रकम नै पाउन सकेँ,” धनमायाले भनिन्, “अब यो नातिनीलाई लिएर अझै कता जानुपर्ने हो, केही थाहा छैन।”
तिलमायाकी दिदी नीलमाया सार्कीले पनि कागजात बुझाएपछि शव नेपाल ल्याउने प्रक्रिया अघि बढ्ने आशा थियो, तर अहिलेसम्म कुनै प्रगति नभएको बताइन्। “समयमै शव नआए, राज्यबाट पाउने राहत नै गुम्ला कि भन्ने चिन्ता छ,” उनले भनिन्, “जे भइसक्यो, तर केही राहत पाएछ भने कम्तीमा छोरीको लालनपालनमा सहयोग हुन्थ्यो।”
मलेसियाबाट शव नआउने कारण के?
सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालका अनुसार मृतकको नाता प्रमाणित गरी आवश्यक कागजात मलेसिया पठाइए पनि शव नेपाल ल्याउन सकिएको छैन। “मलेसियन दूतावासका अनुसार अनुसन्धान नसकिँदासम्म शव नेपाल पठाए मुद्दा किनारा लगाउन समस्या हुने भएकाले रोकिएको छ,” उनले भनिन्, “मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिका छोरीले पाउने राहत पनि गुम्ला कि भन्ने डर छ।”
वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार हत्या आरोपमा एक पाकिस्तानी नागरिकविरुद्ध मुद्दा दायर गरिएको छ, जसले शव ल्याउने प्रक्रिया ढिलाइ गरेको हो। “शव पहिचान प्रक्रिया लम्बिएको जानकारी दूतावासबाट प्राप्त भएको छ,” उनले भने, “अहिलेसम्म शव अस्पतालमै रहेको छ र मृत्यु प्रमाणपत्रसमेत जारी भएको छैन।”
वैदेशिक रोजगारमा गएकामध्ये १८ जनाको मृत्यु
सुरक्षित आप्रवासन केन्द्रका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाको मृत्यु भएको छ। तीमध्ये तीन जनाको शव अझै नेपाल ल्याउन बाँकी छ।
शव कहिले आउँछ?
परिवारले १० महिनादेखि शव नेपाल ल्याउन अनवरत प्रयास गरिरहेको छ, तर प्रक्रिया अझै अन्योलमै छ। धनमाया सार्कीले छोरीको अन्तिम दर्शन गर्ने आशामा प्रशासनका ढोका ढकढकाइरहेकी छिन्। “अब आशै छोडौं कि?” उनले प्रश्न गरिन्, “शव आए पो चिता जलाउने सौभाग्य मिल्थ्यो, नत्र जीवनभर चितामा नै जलिरहनेछु।”


