Sunday, November 8, 2026
Homeसामाचारमलेसियामा कार्यरत खोटाङका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन

मलेसियामा कार्यरत खोटाङका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन

खोटाङ, ७ साउन — वैदेशिक रोजगारीका लागि मलेसिया गएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्।

केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय राई साउन २ गतेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ। उनी तीन वर्षअघि काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेशनल प्रालिबाट मलेसिया पुगेका थिए र स्यारोटन होटलमा सहयोगीको रूपमा कार्यरत थिए।

सम्पर्कविहीन हुनु अघिल्लो दिन, साउन १ गते, मलेसियामै रहेका उनका साहिला दाजु हिमाल राईलाई फेसबुक म्यासेन्जरमार्फत उनले आफू संकटमा रहेको र बचाउन अनुरोध गरेका थिए। म्यासेजमा उनले लेखेका थिए:
“मलाई सिध्याउने षड्यन्त्र गरेका छन्। बोसलाई नभन्नु, उसले थाहा पायो भने मलाई सिध्याउँछ। अब मलाई घर पठाउँदैन। म भाग्नुपर्छ। दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस्।”

म्यासेज गरेकै भोलिपल्टदेखि हरिप्रसाद सम्पर्कविहीन भएका हुन्। दाजु हिमालका अनुसार उनले म्यासेन्जरमै संवाद गर्न चाहेका थिए, फोनमा अरुले सुन्न सक्ने डर व्यक्त गरेका थिए।

हरिप्रसादले आफ्नो गल्ती नभए पनि अरूको गल्तीको दोष आफूमाथि थोपरेर हत्या गर्न सक्ने षड्यन्त्र भइरहेको उल्लेख गरेका थिए।

भाइ सम्पर्कविहीन भएपछि खोजी कार्यमा सक्रिय रहेका दाजु हिमालले मलेसियास्थित नेपाली दूतावास र कम्पनीमा निवेदन दिइसकेको जानकारी दिनुभयो। “भोलिपल्टै राजदूतावासमा निवेदन दिएको हुँ, तर अहिलेसम्म कुनै प्रतिक्रिया छैन,” उहाँले भन्नुभयो, “उनको म्यासेज हेर्दा शंका लाग्छ कि हत्या नै भएको हुन सक्छ। जे अवस्थामा भए पनि मलाई भाइ चाहिएको छ।”

नेपालस्थित फाजल इन्टरनेशनल प्रालिका प्रतिनिधि निरज दाहालले हरिप्रसाद कम्पनी छाडेर भागेको हुन सक्ने अनुमान गरेका छन्। “कम्पनीमै भएको भए सञ्चालकसँग समन्वय गरेर समाधान खोज्न सकिन्थ्यो,” दाहालले बताउनुभयो, “तर भाग्नु आफैँमा गल्ती हो।”

हाल दाहाल उक्त मेनपावर कम्पनीमा कार्यरत नरहे पनि हरिप्रसाद उनकै मार्फत मलेसिया गएकाले कम्पनी र परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेको उहाँले बताए।

हरिप्रसादसँगै खार्मीका अन्य छ जना युवकसमेत उक्त एजेन्टमार्फत मलेसिया गएका थिए। रु २ लाख ५० हजार धरौटी बुझाएर वैदेशिक रोजगारीमा गएका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित बनेका छन्

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका