म्याग्दी, २९ असार: धवलागिरि गाउँपालिका–६ स्थित मराङखोलामा ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना, कास्की पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने उक्त पुल निर्माण गरेको हो।
धवलागिरि–६ का वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पुलको निर्माणपछि धवलागिरि–६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका–७ बिमका स्थानीयवासीहरू लाभान्वित भएका छन्।
“मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माध्यमिक विद्यालय पुग्नका लागि अर्वाङ, घण्टीवाङ र रिखका बासिन्दालाई करिब एक घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो,” वडाध्यक्ष सुवेदीले भन्नुभयो, “अब उक्त यात्रा १५ मिनेटमै पूरा गर्न सकिने भएको छ।”
पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका–२ स्थित निर्माण कम्पनीसँग २ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। अठार महिनाको निर्माण अवधि तोकिए पनि १२ महिनामै निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिनुभयो।
यसै आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत धवलागिरि गाउँपालिका–३ दरखोलामा पनि ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ।
हालसम्म म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या ६ पुगेको छ। तीमध्ये उल्लेखनीय पुलहरू निम्नानुसार छन्:
बेगखोला पुल: रघुगङ्गा गाउँपालिका–१ को बेग र बादुक जोड्ने, लम्बाइ ३६५.८० मिटर
बिमवाङ–रिख पुल: मालिका–७ बिमवाङ र धवलागिरि–६ रिख जोड्ने, लम्बाइ ३५० मिटर
रत्नेचौर–कुडुले पुल: बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने, लम्बाइ ३८८ मिटर
शिख–किन्दु पुल: अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने, लम्बाइ ३४४ मिटर
स्थानीय तहमार्फत द्रुतगतिमा विकास निर्माण भइरहेकाले दुर्गम क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता पुगेको र आर्थिक गतिविधिमा पनि टेवा पुगेको स्थानीयवासीहरूको भनाइ छ।


