ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन ले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा आज आयोजित ४३औं वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान र प्रविधिमा पर्याप्त लगानी नहुनु र अर्थतन्त्रबाट अलग हुनु जस्ता कारणले यो क्षेत्र कमजोर भएको बताए। विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर हुँदा नेपाली समाज पछाडि परेको उनले उल्लेख गरे।
मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनु विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो। उनले भने, “पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो। आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन्।”
उनले विज्ञान तथा प्रविधि सम्बन्धित शैक्षिक र अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए। सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिन सक्ने विश्वास व्यक्त गर्दै मन्त्री पुनले भने, “अनुसन्धान र आविष्कारमा कञ्जुस्याइँ नगरी योजनाबद्ध विकासमा जोड दिनुपर्छ।”
आफू जिम्मेवारीमा आएमा रू ३ अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना उनले सार्वजनिक गरे। साथै, व्यक्तिगत स्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै नास्टको प्रयास प्रशंसनीय रहेको बताए।
कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार र सम्मान प्रदान गरेको छ। साथै, ५ जना वरिष्ठ वैज्ञानिकलाई आजीवन कदरपत्र हस्तान्तरण गरिएको थियो।


