काठमाडौं। मनाङमा परेको लगातार हिमपातका कारण अलपत्र परेका व्यक्तिहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।
गएरातिदेखि परेको बाक्लो हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा फसेका करिब ७५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ खाङसार ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
त्यसैगरी, थप ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षितसाथ राखिएको उनले बताए। मनाङ भ्रमणमा गएका पर्यटकहरूलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित रूपमा फर्कने व्यवस्था मिलाइएको पनि थापाले जानकारी दिए।
यसबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङको टोलीले उद्धार गरी हुम्डे स्वास्थ्य चौकीसम्म पुर्याएको छ।
सशस्त्र प्रहरी बल अन्तर्गत पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई उच्च भूभागमा खोज तथा उद्धार तालिम सञ्चालन भएपछि यस्ता दुर्गम हिमाली क्षेत्रमा पर्ने नागरिकको उद्धार कार्यमा सहजता र प्रभावकारिता बढेको जनाइएको छ।


