Thursday, September 17, 2026
Homeसामाचारमनसुन सक्रिय बन्दै, आज रातिदेखि केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मनसुन सक्रिय बन्दै, आज रातिदेखि केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहे पनि आगामी दिनमा बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा केही स्थानमा हिमपात पनि हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। साथै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा ती प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

यस्तै, मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार आज राति विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका