Saturday, July 18, 2026
Homeसामाचारमनसुन सक्रिय : कोशी, बागमती र गण्डकीमा अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको...

मनसुन सक्रिय : कोशी, बागमती र गण्डकीमा अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि, नेपालको तराई भू–भाग नजिक रहेकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मनसुन सक्रिय रहेकाले भारीदेखि अति भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षय जस्ता विपद्को जोखिम बढ्ने चेतावनी दिएको छ। साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका