काठमाडौँ, २२ असोज — जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहँदा गण्डकी प्रदेशको पश्चिमी भागमा समेत आंशिक प्रभाव देखिएको छ। बाँकी प्रदेशहरूमा भने मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले जनाएको छ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहने र तराईका क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ।
राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। साथै, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख गरेको छ।


