काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव रहिरहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
आइतबार बिहान बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। गोरखाको सेतीवासमा पछिल्लो एक घन्टामा ५.६ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुने छ।
दिउँसो कोशी र बागमती प्रदेशका केही स्थान, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ।
आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। राति पनि यी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


