काठमाडौं । देशभर मनसुनी वायूको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली छ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र तराईमा आंशिक बदली रहने अनुमान छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो र गेग्रान बहावबाट सतर्क रहन विभागले आग्रह गरेको छ।


