जनकपुर: मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। हिजो बसेको बैठकले, वातावरणीय असन्तुलनका कारण समयमै वर्षा नहुनु, धान रोपाइँमा व्यापक असर पर्नु, र रोपिएका खेतमै धाँजा फाट्न थालेको अवस्थालाई ध्यानमा राख्दै सुक्खाग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।
बैठकले मधेश प्रदेशका किसानलाई लक्षित गर्दै विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। साथै, कृषि क्षेत्रमा कार्यरत दातृ निकायहरूलाई आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले पर्साको वीरगञ्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत र साधन परिचालन गर्ने निर्णय गरेको छ। खानेपानी आपूर्तिमा उत्पन्न समस्या समाधानका लागि संघीय खानेपानी मन्त्रालयसँग सहयोगको आग्रह गर्दै, ट्याङ्कर र अन्य वैकल्पिक माध्यमबाट पानी आपूर्ति सुनिश्चित गर्ने निर्णय समेत बैठकले गरेको छ।


