Thursday, October 29, 2026
Homeराजनीतिमतदाताको गोपनीयता भङ्ग नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंको चेतावनी

मतदाताको गोपनीयता भङ्ग नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंको चेतावनी

काठमाडौं — जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिने भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गरिएकोप्रति आपत्ति जनाएको छ। कार्यालयले निर्वाचन आचारसंहिता पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घन हुने गतिविधि देखिएको भन्दै त्यस्ता कार्य तत्काल रोक्न अनुरोध गरेको छ। यस्ता गतिविधि नरोकिए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने कानुनी व्यवस्था रहेको छ। सो अवधिमा जुलुस, आमसभा वा कोणसभा आयोजना गर्न, सञ्चारमाध्यममार्फत प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्न र घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने व्यवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार आचारसंहिताको पूर्ण पालना गराउन पटक–पटक छलफल, अन्तर्क्रिया तथा सूचना प्रकाशन गरिए पनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट उल्लङ्घन हुने गतिविधि भइरहेको गुनासो आएको छ।

निर्धारित समयभन्दा अघि नै कोणसभा आयोजना गर्ने, प्रचारप्रसार गर्ने, प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभावित पार्ने प्रयास भइरहेको जानकारी प्राप्त भएकाले यस्ता कार्य नगर्न/नगराउन कार्यालयले पुनः आग्रह गरेको छ।

कसैबाट पनि आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गरिएको प्रमाण भेटिएमा तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।

आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताका सबै प्रावधान पालना गर्न ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका