काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आज आयोजित कार्यक्रममा उनले मतदानपश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।
कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रिया शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता प्रशंसनीय रहेको बताए।
उनले मतगणनास्थलमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सूचना सङ्कलनलाई प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा रणनीतिसहित प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए।
त्यस्तै मतगणनास्थल, मतपरिणाम सार्वजनिक हुने समय तथा विजयी दलका र्याली र जुलुसका क्रममा कुनै त्रुटि नहुने गरी थप संवेदनशील भएर काम गर्न पनि उनले आग्रह गरे।
सामाजिक सञ्जालमार्फत फैलाइने गलत वा भ्रामक सूचनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी अझ सक्रिय हुनुपर्नेमा पनि उनले जोड दिए।


