हेटौँडा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बनाएको छ। यसक्रममा इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा भेटघाट कार्यक्रमसहित प्रचारप्रसार समिति गठन गरिएको छ।
राप्रपाका उम्मेदवार रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट लक्ष्मी नगरकोटीको संयोजकत्वमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा शिव नगरकोटी र सचिवमा सुमन नगरकोटी चयन भएका छन्। सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन्।
भेलामा आगामी प्रचारप्रसार कार्यक्रम, घरदैलो अभियान तथा मतदातासँगको भेटघाटलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। वडास्तरबाटै संगठित रूपमा चुनावी अभियान सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गरिएको जनाइएको छ।
चुनावी मैदानमा उत्रिएपछि उम्मेदवार थोकरले इन्द्रसरोवर गाउँपालिका–२ सल्ले, वडा नम्बर–३ सिस्नेरी, कुलेखानी, कलंकी, मार्खु तथा थाहा नगरपालिका–९ चित्लाङलगायत क्षेत्रमा स्थानीय नागरिकसँग भेटघाट र संवाद गरिसकेका छन्। उनले मतदाताका धारणा सुन्ने, समस्या बुझ्ने र आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताएका छन्।
घरदैलो अभियानका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता जनाउँदै थोकरले आफू सधैं जनताको मुद्दा उठाउने बताएका छन्। उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।


