मकवानपुर । जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १७ देखि २० गतेसम्म जिल्लाका केही प्रमुख सडक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रतिबन्धित समय र सडक खण्डहरू:
१. कान्ति लोकपथ (हेटौँडाबाट ललितपुरतर्फ): बेलुका ४:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी साधन चल्न पाउने छैन।
२. हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्ड: बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
प्रशासनले अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। साथै, सबै स्थानीय तहलाई पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
त्यस्तै, जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति लगायतका निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्ने सबै साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग नियमित समन्वय र सम्पर्कमा रहन आग्रह गरिएको छ।



