Thursday, September 24, 2026
Homeराजनीतिमकवानपुरका १० स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, ९ पालिकामा बानियाँ–डिना समूह हाबी

मकवानपुरका १० स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, ९ पालिकामा बानियाँ–डिना समूह हाबी

मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका १० स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ भने केही पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

जिल्लाका सात पालिकामा नेतृत्व सर्वसम्मत चयन हुँदा तीन पालिकामा निर्वाचन भएको हो । हेटौँडा उपमहानगरपालिकासहित राक्सिराङ, बागमती, बकैया र मनहरी गाउँपालिकामा सभापतिसहित केही पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध नेतृत्व चयन गरिएको थियो ।

अधिवेशनको परिणामअनुसार हेटौँडा उपमहानगरपालिका बाहेक मकवानपुरका नौ पालिकाको सभापतिमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ समूहका उम्मेदवारहरू निर्वाचित भएका छन् । हेटौँडामा भने विशेष महाधिवेशन पक्षधर समूहका उम्मेदवार विजयी भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको नगर सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् । उनले ५८१ मतमध्ये २८४ मत प्राप्त गर्दै कविन सांगामीलाई ९ मतले पराजित गरे । सांगामीले २७५ मत प्राप्त गरेका थिए । उपसभापतिमा कुलप्रसाद चौलागाईं ३०७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी कृष्णप्रसाद दुलालले २४१ मत प्राप्त गरे । नगर सचिवमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् ।

थाहा नगरपालिकाको सभापतिमा राजेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको सभापतित्वमा ४३ सदस्यीय नगर कार्यसमिति गठन भएको छ । उपसभापतिमा सुरेश लामिछाने र इन्दीरा गोपाली, सचिवमा विरुजु लाल थिङ, सहसचिवमा विजय मल्ल तथा कोषाध्यक्षमा धनश्याम बलामी चयन भएका छन् ।

मकवानपुरगढी गाउँपालिकाको सभापतिमा आकाशकुमार गोले सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा सदीप अधिकारी र सुशीला फुयाँल, सचिवमा आइत सिंह लो तथा सहसचिवमा रामप्रसाद चौरेल चयन भएका छन् । कोषाध्यक्ष भने पछि मनोनयन गरिने जनाइएको छ ।

कैलाश गाउँपालिकामा उदास कुमार ब्लोन निर्विरोध सभापतिमा चयन भएका छन् । उपसभापतिमा भुवन सिंह घलान र लक्ष्मी तामाङ, सचिवमा तेजबहादुर ब्लोन तथा सहसचिवमा कृष्ण मोक्तान चयन भएका छन् ।

भीमफेदी गाउँपालिकाको सभापतिमा मित्रबन्दु सिजाली निर्विरोध चयन भएका छन् । उपसभापतिमा सुमित्रा नेगी र रमेशकुमार थिङ, सचिवमा हरि लामा तथा सहसचिवमा जीतकुमार बल चयन भएका छन् । कोषाध्यक्ष पछि मनोनयन गरिने निवर्तमान सभापति सञ्जीव श्रेष्ठले जानकारी दिएका छन् ।

इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा सुमन श्रेष्ठ निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनले श्रेष्ठको सभापतित्वमा २४ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

बागमती गाउँपालिकाको सभापतिमा चोकबहादुर ठाडामगर निर्वाचित भएका छन् । उनले दीपप्रसाद घोरासैनीलाई एक मतले पराजित गरे । मगरले ७५ मत प्राप्त गर्दा घोरासैनीले ७४ मत पाए । कुल २०३ मतदाता रहेकामा १६० मत खसेको थियो, जसमध्ये ११ मत बदर भएको थियो । उपसभापतिमा कुमारबहादुर केसी र अप्सरा थोकर, सचिवमा सुदीप पाख्रिन तथा सहसचिवमा राजु लोप्चन चयन भएका छन् ।

मनहरी गाउँपालिकाको सभापतिमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । मनहरी–९ का वडाध्यक्षसमेत रहेका श्रेष्ठले १३९ मत प्राप्त गर्दै राजेश अधिकारी र विष्णुप्रसाद उप्रेतीलाई पराजित गरे । अधिकारीले ६१ र उप्रेतीले ४ मत प्राप्त गरे । कुल २१४ मतदातामध्ये २०४ मत खसेको थियो । उपसभापतिमा पुरुषतर्फ अन्ततप्रसाद अर्याल र महिलातर्फ शान्ति अधिकारी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा दीपकप्रसाद रिमाल तथा सहसचिवमा विष्णुमाया बल चयन भएका छन् ।

राक्सिराङ गाउँपालिकाको सभापतिमा देव लामा निर्वाचित भएका छन् । उनले १२४ मत प्राप्त गर्दै वर्तमान उपसभापति बुद्धराम मोक्तानलाई पराजित गरे । यो सभापति पदका लागि लामाको दोस्रो प्रयास हो । १४औँ महाधिवेशनमा उनी वीरेन्द्र जिम्बासँग पराजित भएका थिए ।

राक्सिराङमा महिलातर्फको उपसभापतिमा दीपा सुनार निर्वाचित भएकी छन् । उनले डीबी मोक्तानलाई ९५–८८ मतले पराजित गरिन् । पुरुषतर्फ रामचन्द्र ब्लोन १०९ मतसहित निर्वाचित भए । उनले सोम चेपाङलाई पराजित गरे । सचिवमा टीकाराम थिङ निर्वाचित भएका छन् । उनले लोक प्रजालाई पराजित गर्दै १०० मत प्राप्त गरे ।

बकैया गाउँपालिकाको सभापतिमा गोपालबहादुर न्यासुर निर्वाचित भएका छन् । सभापति पदमा भएको निर्वाचनमा न्यासुरले १३९ मत प्राप्त गर्दै विजय लामा थिङ र सुनिल भोम्जनलाई पराजित गरे । भोम्जनले ४५ र लामा थिङले ३७ मत प्राप्त गरे । उपसभापतिमा पुरुषतर्फ ज्ञानेन्द्र बजागाईं र महिलातर्फ सरिता सञ्जेल निर्वाचित भएका छन् । सचिवमा सुशासन ब्लोन तथा सहसचिवमा गणेश सेञ्चुरी चयन भएका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका