काठमाडौं । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका विभिन्न स्थानमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको महाशाखाले जनाएको छ।
उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले यसको प्रभाव देशभरको मौसममा परेको महाशाखाले जनाएको छ।


