काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अध्ययनले देखाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको ‘भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रतिवेदनअनुसार हिमचट्टानसहितको पहिरो हिमतालमा खसेपछि आएको बाढीले होटल तथा रेस्टुरेन्ट, सवारीसाधन, पदमार्ग, सम्पदा, पर्यटकीय पूर्वाधार, राफ्टिङ तथा क्याम्पिङ साइटमा ठूलो क्षति पुर्याएको हो।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित समितिले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी प्रारम्भिक क्षतिको विवरण संकलन गरेको हो।
होटल तथा रेस्टुरेन्टमा सबैभन्दा ठूलो क्षति
प्रतिवेदनअनुसार भोटेकोशी र त्रिशूली नदी आसपासका २०७ होटल तथा रेस्टुरेन्टमा क्षति पुग्दा १९ अर्ब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।
त्यस्तै, रेस्टुरेन्ट क्षेत्रमा १ अर्ब ३८ करोड रुपैयाँ र पर्यटनसँग सम्बन्धित सवारीसाधनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
अन्य पर्यटकीय पूर्वाधारतर्फ पदमार्गमा ५ करोड रुपैयाँ, सम्पदा तथा पर्यटकीय संरचनामा १ अर्ब १२ करोड रुपैयाँ तथा राफ्टिङ र क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
पर्यटन आम्दानीमा पनि ठूलो असर
भौतिक संरचनामा भएको क्षतिसँगै पर्यटन व्यवसायको आम्दानीमा समेत ठूलो असर परेको छ। प्रभावित होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकबाट हुने आम्दानीतर्फ मात्रै १४ अर्ब ६० करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।
त्यसैगरी, लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा १ अर्ब २७ करोड रुपैयाँ तथा आन्तरिक पर्यटन आयमा १९ करोड ८७ लाख रुपैयाँ बराबरको असर परेको जनाइएको छ।
वैकल्पिक रुट र गन्तव्य प्रवर्द्धनमा जोड
क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै पर्यटन पुनरुत्थानका लागि तत्काल ठोस योजना बनाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले प्रभावित क्षेत्रमा पर्यटकीय पूर्वाधार पुनर्निर्माण गर्न समय लाग्ने भएकाले तत्काल वैकल्पिक गन्तव्य र रुट पहिचान गरी पर्यटन गतिविधि बढाउनुपर्ने बताए।
तिब्बततर्फको नाकामा समेत असर परेकाले नेपालका ट्रेकिङ रुटमा त्यसको प्रभाव परेको भन्दै अन्तर्राष्ट्रिय बजारमा नेपालका सुरक्षित गन्तव्यबारे सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले विपद्का समयमा पर्यटन क्षेत्रका सबै सरोकारवाला एकजुट भएर पुनरुत्थानमा लाग्नुपर्ने बताए।
भोटेकोशी र त्रिशूली करिडोर महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले पुनर्निर्माणसँगै सुरक्षित वैकल्पिक गन्तव्यको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।


