Saturday, September 5, 2026
Homeसामाचारभोटेकोशी बाढीमा सम्पर्कविहीनको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री श्रेष्ठको भनाइ

भोटेकोशी बाढीमा सम्पर्कविहीनको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री श्रेष्ठको भनाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

उनले उपलब्ध सम्पूर्ण स्रोतसाधन र जनशक्ति परिचालन गरेर खोजी तथा उद्धार कार्य जारी राखिएको जानकारी दिए। तर, प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित परिणाम हासिल गर्न कठिन भइरहेको उनले बताए।

सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग मन्त्रालयमै भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताए। संकटको समयमा पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित, यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनु राज्यको महत्वपूर्ण दायित्व भएको उनले उल्लेख गरे।

“परिवारजनसँग सम्पर्क नहुँदाको पीडा मैले महसुस गरिरहेको छु। हामीलाई प्रत्येक सेकेन्ड महत्त्वपूर्ण छ। नागरिक तथा कर्मचारीको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन,” उनले भने, “तर काबुबाहिरको परिस्थितिमा सरकारले चाहेर पनि धेरै कुरा गर्न कठिन भइरहेको छ।”

बाढीपछि मन्त्रालयले खोज, उद्धार, समन्वय तथा पुनःस्थापनाका लागि उपलब्ध स्रोतसाधन परिचालन गर्दै विभिन्न कमान्ड तथा कार्य संयन्त्रमार्फत काम गरिरहेको जनाएको छ। सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्यलाई तीव्रता दिइए पनि कठिन भौगोलिक अवस्था र जोखिमका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको मन्त्री श्रेष्ठले बताए।

केन्द्रीय तहमा मन्त्री श्रेष्ठले अन्तरमन्त्रालय समन्वय, सहजीकरण तथा आवश्यक स्रोत व्यवस्थापनको नेतृत्व गरिरहेका छन्। मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अन्य उच्च अधिकारीहरू प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, पुनःस्थापना, समन्वय र स्रोत परिचालनमा खटिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका