चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सड्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरूको सुझावका आधारमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगल क्षेत्रमा व्यवस्थापन गरिनेछ।
शव व्यवस्थापन गर्नुअघि प्रत्येक शवबाट डिएनए नमुना संकलन गरिनेछ। साथै, संकेत नम्बरका आधारमा आवश्यक विवरण अभिलेखमा सुरक्षित राखिने प्रशासनले जनाएको छ।
प्रशासनले शोकको यस कठिन परिस्थितिमा उक्त निर्णयलाई सकारात्मक रूपमा लिई सहयोग, समन्वय तथा आवश्यक सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
बाध्यात्मक परिस्थितिका कारण पीडित परिवारलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमासमेत मागेको छ।


