Friday, September 4, 2026
Homeसामाचारभोटेकोशी बाढीपछि विद्युत् सेवा पुनःस्थापना तीव्र, सुरुङमा फसेकाको उद्धार जारी

भोटेकोशी बाढीपछि विद्युत् सेवा पुनःस्थापना तीव्र, सुरुङमा फसेकाको उद्धार जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्ने काम तीव्र पारिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाका अधिकांश स्थानीय तहमा विद्युत् सेवा सुचारु भइसकेको छ। नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

बाँकी प्रभावित क्षेत्रमा पनि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ। आवश्यकताअनुसार वैकल्पिक व्यवस्थामार्फत विद्युत् सेवा विस्तार गर्ने कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नुवाकोटको किस्पाङ गाउँपालिकामा अवरुद्ध विद्युत् सेवा आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गरी मर्मत तथा पुनःस्थापना सम्पन्न गरेर पुनः सञ्चालनमा ल्याइएको छ।

मन्त्रालयका अनुसार सान्जेनखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह सुचारु गर्ने काम भइरहेको छ। हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी विद्युत् सेवा विस्तार गर्ने तयारी पनि गरिएको छ।

बाढीबाट क्षतिग्रस्त वितरण तथा प्रसारण संरचनाको पुनर्निर्माणका लागि नयाँ पोल, लाइनलगायतका पूर्वाधार निर्माण तथा जडानको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ तथा सम्बन्धित आयोजनाका इन्जिनियर सम्मिलित संयुक्त टोलीले सुरुङभित्र रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको छ।

क्षतिग्रस्त तथा अवरुद्ध सुरुङ खोल्न विभिन्न उपकरण प्रयोग गर्दै उद्धार अभियानलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

उद्धार अभियानको पछिल्लो अवस्थाबारे नेपाली सेनाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा पूर्वाधार विकास मन्त्रीलाई ब्रिफिङ गरेको छ। ब्रिफिङका क्रममा मन्त्रीद्वयले उद्धार रणनीति तथा सुरुङमा फसेकाहरूको खोजी र उद्धारको प्रगतिबारे जानकारी लिएका थिए।

यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नुवाकोटको विदुरबाट संस्थागत तथा २० वाट पिक क्षमताका घरेलु सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रणाली तथा प्राविधिक जनशक्ति परिचालनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक संघबीच समन्वय गरिएको छ। संघले नेपालमा उपलब्ध सौर्य ऊर्जा प्रणालीका विभिन्न प्रविधि तथा प्राविधिक जनशक्तिको विस्तृत विवरण केन्द्रलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका