Saturday, September 5, 2026
Homeसामाचारभोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि निगमद्वारा इन्धन र ग्यास आपूर्ति तीव्र

भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि निगमद्वारा इन्धन र ग्यास आपूर्ति तीव्र

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यासको आपूर्ति तीव्र पारेको छ।

निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइएको जनाएको छ।

उद्धारमा संलग्न हेलिकप्टरको सहज सञ्चालनका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको व्यवस्था मिलाइएको निगमले जनाएको छ। भदौ १० गते १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर, १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइएको हो।

त्यस्तै, प्रभावित क्षेत्रमा सवारीसाधन तथा उद्धारमा प्रयोग हुने उपकरणको आवागमन सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धन बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

खोज तथा उद्धारपछि विभिन्न आश्रयस्थलमा रहेका बाढी प्रभावितका लागि खाना पकाउने एलपी ग्यासको समेत व्यवस्था गरिएको छ। नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा २३२ थान र एलपी ग्यास उद्योग संघमार्फत नुवाकोट तथा रसुवाका लागि १५० थान भरिएका सिलिन्डर राहतस्वरूप पठाइएको निगमले जनाएको छ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निगमले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका