Saturday, September 5, 2026
Homeसामाचारभोटेकोशी–त्रिशूली बाढीबाट १५ देशका १८७ विदेशी पर्यटकको उद्धार

भोटेकोशी–त्रिशूली बाढीबाट १५ देशका १८७ विदेशी पर्यटकको उद्धार

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, माल्टा र जर्मनीका चार–चार तथा अमेरिका र इटालीका तीन–तीन जना नागरिकको उद्धार गरिएको छ।

त्यस्तै, रुस, स्पेन, स्वीजरल्याण्ड र टर्कीका दुई–दुई जना तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक–एक जना नागरिकको उद्धार गरिएको बोर्डले जनाएको छ। अन्य राष्ट्रियता नखुलेका तीन जना पनि सम्पर्कमा आएका छन्।

तर अझै ४२० जना विदेशी पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्कविहीन रहेको जानकारी दिएको थियो।

गत बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले संयुक्त रूपमा काम गरिरहेका छन्।

घाइते, अलपत्र तथा प्रभावित व्यक्तिको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रयास जारी रहेको बोर्डले जनाएको छ।

आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा समन्वयका कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका