Sunday, November 8, 2026
Homeसामाचार‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

भोजपुर, ३१ भदौ । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको चासो घट्दै जाँदा प्रसिद्ध ‘भोजपुरे खुकुरी’ निर्माणमा संकट देखिएको छ। दक्ष जनशक्ति अभावका कारण मागअनुसार उत्पादन हुन नसक्दा बजार धान्न मुस्किल भएको व्यवसायीहरू बताउँछन्।

कालीगढ हर्कबहादुर विश्वकर्माका अनुसार स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म माग बढ्दो भए पनि नयाँ पुस्ता यस पेसाप्रति आकर्षित नभएकाले उत्पादनमा कमी आएको छ। “देश–विदेशबाट माग आउँछ, तर दक्ष जनशक्ति नहुँदा बजार धान्न सकिँदैन,” उनले बताए।

मुख्यत: भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोदालगायतका खुकुरीको बढी माग रहेको छ। आकारअनुसार खुकुरीको मूल्य रु १,००० देखि २०,००० सम्म पर्ने व्यवसायी दिनेश गजमेरले जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट सयौं थान खुकुरी माग भए पनि उत्पादन क्षमता अपुग छ।

अघिल्ला वर्षमा पर्याप्त कालीगढ भए पनि अहिले कच्चा पदार्थ अभाव, बढी मेहेनत र नयाँ पुस्ताको चासो नहुनुजस्ता कारणले पेसा संकटमा परेको व्यवसायीहरूको भनाइ छ। विदेश जाने लहर बढेसँगै गाउँघरका आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक कृषि औजार उत्पादनमा समेत जनशक्ति अभाव देखिन थालेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका