भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिकामा गौरवको आयोजना अन्तर्गत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्रे कार्य सम्पन्न भएको छ। यो सडक भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिनेछ र गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म पुग्नेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार तिवारीभञ्याङ–अधेँरीघाटसम्मको कुल ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्रे सकिएको हो। उनका अनुसार यो सडक सङ्घीय समपूरक बजेट र गाउँपालिकाको लगानीमा निर्माण भइरहेको हो। “तीन किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ, यस आर्थिक वर्षमा थप कालोपत्रेका लागि पनि बोलपत्र आह्वान भइसकेको छ,” भट्टराईले बताए।
गाउँपालिका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अगाडि बढाइएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिइएको जानकारी दिए। उनका अनुसार यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले यसलाई प्राथमिकतामा राखी काम अघि बढाइएको हो। “तीन किलोमिटर कालोपत्रे भइसकेको छ, बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्रे गर्ने हाम्रो लक्ष्य छ,” अध्यक्ष राईले बताए।
सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ। वडा नम्बर ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले भनिन्, “तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्रे होला भन्ने हामीलाई लागेको थिएन, अहिले सडक कालोपत्रे भएपछि आवतजावत सहज र छिटो भएको छ, हामी निकै खुसी छौँ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्रविधिमा निर्माण भइरहेको छ। नालीसहित आठ मिटर चौडाइ भएको यस सडकले स्थानीय यातायात र व्यापारिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो सडकले पौवादुङ गाउँपालिकाका छवटा वडामध्ये पाँच वडालाई जोड्नेछ।


