Sunday, April 19, 2026
Homeसुन्दर नेपाल"भेडाका बथानले ढपक्क ढाकिएको बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै"

“भेडाका बथानले ढपक्क ढाकिएको बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै”

ढोरपाटन (बागलुङ), २१ असार: बुकीपाटनको उत्तरपट्टी देखिने विशाल हिमशृङ्खला, चारैतिर हरियालीले ढाकिएका पहाड र ती पहाडका डाँडामा फैलिएका सेताम्मे भेडाका बथानहरूले लेकाली जनजीवनलाई छर्लङ्ग पार्ने दृश्य बुकीपाटनमा सजिलै देखिन्छ। अस्थायी गोठहरूमा बाँसका चित्रा र प्लास्टिकका त्रिपालमुनि केही थान दुःख, केही थान खुसी र केही थान आशासँगै बसेका गोठालाहरू भेटिन्छन्।

यही मौलिकता र प्राकृतिक सौन्दर्यको मिश्रण हेर्न हालका दिनमा बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ। हजारौँ भेडा र सयौँ गोठालाको अस्थायी बासस्थान बनेको ढोरपाटनको बुकीपाटन अब पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।

विगत पाँच वर्षअघि मात्र गोठालाहरूका लागि विशेष प्रिय रहेको यो स्थान आज पर्यटकहरूका लागि उत्तिकै आकर्षक बनेको छ। अहिले घाँस पलाएर हरियाली छाएको समथर चौरमा चर्दै गरेका भेडाका बथानले बुकीपाटनको सौन्दर्य झन् बढाएका छन्।

तर, बुकीपाटन पुग्न सजिलो भने छैन। उच्च पहाडी भूभाग भएकाले लेक लाग्ने सम्भावना उच्च रहन्छ। सडक सञ्जालको सुविधा नभएकोले अघिसम्म गोरेटो बाटो हुँदै गोठालाहरू र पर्यटकहरू यहाँ पुग्थे। यस वर्ष भने पदमार्गको विकास भएपछि पुग्न केही सजिलो भएको छ।

नेपालकै एकमात्र शिकार आरक्ष अन्तर्गत पर्ने बुकीपाटन पुग्ने पर्यटकहरूको पहिलो नजर भेडाका बथान र गोठालाको जीवनशैलीमा पर्छ। ढोरपाटनको पाखाथरबाट करिब पाँच घण्टाको पैदलयात्रा पछि पुगिने गर्पाछेडा पुग्दा नै हजारौँको सङ्ख्यामा चर्दै गरेका भेडाले पर्यटकको थकान मेटाउँछन्।

भेटी गोठाला भक्त अदैका अनुसार, “पाँच वर्ष अघिसम्म गोठालाबाहेक कोही नआउने बुकीपाटनमा अहिले दिनदिनै सहर बजारबाट पर्यटक आउने गरेका छन्।” उहाँले पर्यटकहरू भेडीगोठ, गोठालाको जीवनशैली, खानेकुरा, कपडा र बासस्थानमा निकै चासो देखाउने गरेको बताउनुभयो।

उहाँले थप्नुभयो, “हामी बाध्यताले यहाँ बस्छौँ, तर अब मान्छेहरू रहरले घुम्न आउँछन्। कोही त दुई–तीन दिनसम्म बस्छन्।”

ढोरपाटनको बुकी क्षेत्रमा पर्ने दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेजस्ता ठाउँहरूमा हाल बागलुङ, पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू भेडाबाख्रा, गाईभैँसीसहित अस्थायी गोठ बनाएर बसेका छन्। एउटै गोठालाको पाँच हजारसम्म भेडा हुने गरेको बताइन्छ।

रोल्पाको सुनछहारीबाट निसीखोला हुँदै बुकीपाटन पुगेका पुनराम घर्तीमगर ४० वर्षदेखि यहाँ भेडा चराउँदै आएका अनुभवी गोठाला हुन्। उहाँका अनुसार, पहिले पर्यटक भन्ने नै थिएनन्, तर पछिल्ला वर्षहरूमा घुम्न आउनेहरूको चाप उल्लेखनीय रूपमा बढेको छ। “एकै ठाउँमा हजारौँ भेडा देखेर पर्यटकहरू दङ्ग पर्छन्”, उहाँले भन्नुभयो।

“यहाँको घाँस पोषिलो भएकाले बर्खामा यहाँ आएर भेडा चराउँछौँ”, घर्ती मगरले भने, “पर्यटकहरू हाम्रो भिडियो खिच्छन्, के–केमा आउँछ भनेर देखाउँछन्, तर हामीसँग मोबाइल छैन, कहाँ हेर्ने?”

समुद्री सतहदेखि ४,५०० मिटरको उचाइमा फैलिएको बुकीपाटनमा असारदेखि कात्तिकसम्म गोठाला बस्छन्। कात्तिकपछि चिसो बढेपछि बेँसी झर्छन्।

भैरहवाबाट आठ जनाको समूहमा ढोरपाटन घुम्न आएका प्रकाश ज्ञवालीले बुकीपाटनको सुन्दरताले आफूलाई मोहित बनाएको बताउनुभयो। “पहिलोपटक यति अग्लो ठाउँ आएको, अनि जीवनमै पहिलोपटक पहाडै ढपक्क ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ,” उहाँले भन्नुभयो, “गोठालाहरूको सहयोगी स्वभावले पनि मन छोयो। अबको यात्रा धेरै दिनको लागि हुनेछ।”

बुकीपाटन अब गोठालाहरूको मात्र गन्तव्य नभई पर्यटकहरूको पनि लोभलाग्दो स्थल बन्दै गएको छ — जहाँ स्वाभाविक जीवनशैली, भेडाका बथान र अपूर्व प्राकृतिक दृश्यले सबैको मन जित्दैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका