Sunday, November 8, 2026
Homeसामाचारभिजिट भिसा प्रकरणमा अन्तर्राष्ट्रिय संलग्नता रहेको प्रचण्डको आशंका

भिजिट भिसा प्रकरणमा अन्तर्राष्ट्रिय संलग्नता रहेको प्रचण्डको आशंका

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणालीमा देखिएको बेथितिलाई केवल प्रशासनिक कमजोरीको रूपमा नभई गम्भीर राष्ट्रिय अनुसन्धानको विषयका रूपमा लिनुपर्ने बताएका छन्।

संघीय संसदको बैठकमा विशेष सम्बोधन गर्दै उनले भने, “भिजिट भिसा र अध्यागमनको बेथिति पहिलेदेखि नै सार्वजनिक बहस र आलोचनाको विषय बन्दै आएको थियो। तर, योपटक गम्भीररूपमा सतहमा आयो र सबैको चासोको केन्द्र बन्यो।”

उनका अनुसार प्रमुख प्रतिपक्षी दलहरू तथा अन्य विपक्षी दलहरूले यस विषयमा गम्भीर छलफल गर्दै सरकारको ध्यानाकर्षण गराउने प्रयत्न गर्दा संसद अवरुद्ध गर्नुपर्ने बाध्यता आयो। तर, आर्थिक सर्वेक्षण र आगामी बजेटजस्ता राष्ट्रिय महत्वका विषयका कारण सदन चल्न दिन विपक्षी दलहरूले निर्णय गरेको उनले स्पष्ट पारे।

राजनीतिक इतिहासलाई स्मरण गर्दै प्रचण्डले भने, “१२ बुँदे सहमतिपछि शान्ति प्रक्रियाको थालनी गर्दा हामीले सत्तापक्ष भएर पनि प्रतिपक्षको भूमिका निर्वाह गरेका थियौं, र प्रतिपक्ष हुँदा राष्ट्रहितका लागि सत्तापक्षको जिम्मेवारी पनि वहन गरेका छौं।”

उनले गैरजिम्मेवार शैलीमा अवरोध सिर्जना गर्ने पक्षमा आफूहरू नरहेको प्रस्ट्याउँदै भने, “हामी जिम्मेवार प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिन चाहन्छौं।”

भिजिट भिसाको समस्या लामो समयदेखि रहँदै आएको उल्लेख गर्दै उनले यसमा अन्तर्राष्ट्रिय संलग्नता रहेको आशंका व्यक्त गरे र गहिरो तथा निष्पक्ष छानबिनको आवश्यकता औंल्याए।

प्रचण्डले संघीय निजामती सेवा, विद्यालय शिक्षा, नागरिकता लगायतका विधेयकहरू संसदमा प्रस्तुत गर्न प्रतिपक्षले खेलेको जिम्मेवार भूमिकाको पनि स्मरण गरे। उनले भने, “हामी आफैंले निकै मेहनत गरेर सदनमा पुर्‍याएका विधेयकहरू पारित गराउने उद्देश्यले अवरोध हटाएका हौं।”

तर, समितिबाट सर्वसम्मत रूपमा पारित संघीय निजामती सेवा विधेयकमाथि गम्भीर षड्यन्त्र भएको आरोप समेत उनले लगाए। “स्वार्थ समूहको चलखेलकै कारण विद्यालय शिक्षा विधेयक पनि समितिमै रोकिएको छ,” उनले निष्कर्ष निकाले।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका