म्याग्दी। लगातार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार दुवै सडकमा साँझ ७:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म सवारी सञ्चालन रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार यात्रु र सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्दछ। यही सडकमार्फत मुस्ताङ, मुक्तिनाथ तथा कोरला नाका जाने यात्रुहरू आवतजावत गर्छन्। त्यसैगरी पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द रहनेछ।
प्रशासनले मौसमको अवस्था सामान्य भएपछि सडक सञ्चालनबारे थप निर्णय गरिने जनाएको छ। साथै, यात्रु तथा चालकलाई यात्रा गर्नुअघि मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।


