Sunday, June 28, 2026
Homeसामाचारभारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ : मुख्यमन्त्री शाह

भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ : मुख्यमन्त्री शाह

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्न आवश्यक रहेको बताएका छन्।

नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले भारतमा काम गर्ने नेपाली श्रमिकलाई समेत बिमा योजनाको दायरा भित्र ल्याउन प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गरे।

उहाँले खाडी मुलुक तथा तेस्रो देशमा जाने श्रमिकहरूलाई जस्तै भारत जाने श्रमिकहरूको पनि बिमा गर्नु आवश्यक रहेको भन्दै यसले उनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने र जनतामा सकारात्मक सन्देश जाने धारणा व्यक्त गरे। साथै, प्रदेशका सचिवहरूलाई भारत जाने श्रमिकहरूको तथ्याङ्क सङ्कलन गरी प्रक्रिया अघि बढाउन निर्देशन दिए।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमवासीका लागि विपत् बिमा योजना अघि बढाइरहेको बताउँदै, नियमनकारी निकाय बिमा प्राधिकरण र बिमा गर्ने संस्थाहरूले सहयोग गरेमा कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।

सरकारले महिला स्वयंसेविकाको बिमा तथा शिक्षिकाहरूका लागि प्रतिव्यक्ति रु २,००० अनुदान दिइरहेको जानकारी दिँदै उहाँले कृषि बिमालाई विशेष प्राथमिकता दिई थप किसानलाई सहभागी गराउने योजना रहेको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका