Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियभारतको जयपुरमा तरवार प्रहार गरी श्रीमती र ८ वर्षीया छोरीको हत्या, आरोपीले...

भारतको जयपुरमा तरवार प्रहार गरी श्रीमती र ८ वर्षीया छोरीको हत्या, आरोपीले प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । भारतको राजस्थान राज्यको ग्रामीण जयपुर क्षेत्रमा एक हृदयविदारक घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्। एक पुरुषले आफ्नी श्रीमती र ८ वर्षीया छोरीलाई तरवार प्रहार गरी हत्या गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मोखमपुरा प्रहरी चौकी अन्तर्गत पर्ने बिचुन गाउँमा बिहीबार बिहान करिब ६ बजे सुरजित नामका व्यक्तिले आफ्नी श्रीमती सरोज देवी र छोरी वंशिकामाथि तरवारले आक्रमण गरेका थिए। आक्रमण अत्यन्त घातक भएकाले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका बेला श्रीमती भर्खरै ब्यूँझिएकी थिइन् भने छोरी सुतिरहेको अवस्थामा थिइन्। अचानक भएको यो घटनाले गाउँमा त्रास र शोकको वातावरण सिर्जना गरेको छ।

घटनापछि आरोपी भाग्नुको सट्टा घरबाट निस्केर सिधै मोखमपुरा प्रहरी चौकी पुगेका थिए। उनले आफूले श्रीमती र छोरीको हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। आरोपीको बयान सुनेपछि प्रहरी पनि स्तब्ध भएको बताइएको छ।

सूचना पाएपछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। प्रहरीले दुवै शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि डुडु उप–जिल्ला अस्पतालको शवगृहमा राखेको छ। साथै घटनास्थलमा पुगेको फरेन्सिक टोलीले अनुसन्धानका लागि महत्वपूर्ण प्रमाणहरू संकलन गरेको छ।

मोखमपुरा प्रहरी चौकीका अधिकारी सुरेश गुर्जरका अनुसार प्रारम्भिक अनुसन्धानमा पति–पत्नीबीच लामो समयदेखि घरेलु विवाद र आर्थिक समस्याका कारण तनाव रहेको देखिएको छ। बिहीबार बिहान उक्त विवाद झन् बढेपछि घटना भएको अनुमान गरिएको छ।

यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका