Thursday, October 29, 2026
Homeराजनीतिभक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री

भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री

भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव खत्रीले चुनावी अभियानलाई तीव्र बनाएका छन्। देशभर निर्वाचनको माहोल बढेसँगै आफूले पनि वडा–वडामा भेटघाट, समूहगत छलफल तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए।

खत्रीले वडास्तरबाटै संगठन सुदृढ बनाउने रणनीतिमा पार्टी केन्द्रित रहेको उल्लेख गर्दै घरदैलो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। “इन्टरनल तयारी, वडा तहमा संगठन मजबुत बनाउने र त्यसपछि घरदैलोमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने हाम्रो योजना छ,” उनले भने।

उनले प्रतिनिधिसभा सदस्यको भूमिकालाई नीतिगत तहसँग जोडेर हेर्नुपर्ने धारणा राखे। सांसदको मुख्य जिम्मेवारी बजेट छुट्याएर सडक वा ढल निर्माण गर्नेभन्दा पनि नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई सहज बनाउनु भएको उनले बताए। स्थानीय तह र प्रदेशसँग सम्बन्धित विकास योजनालाई संघीय स्तरबाट सहजीकरण गर्नु प्रतिनिधिसभाको दायित्व रहेको उनको भनाइ छ।

खत्रीले पार्टीले सार्वजनिक गर्ने प्रतिबद्धता पत्र नै आफ्नो प्रतिबद्धता हुने स्पष्ट पार्दै भक्तपुर क्षेत्रलाई लक्षित गरी छुट्टै प्रतिबद्धता पत्र तयार भइरहेको बताए। उनले भक्तपुर–२ मा नयाँ बस्ती र पुरानो शहर मध्यपुर ठिमी दुवै रहेको उल्लेख गर्दै फरक संरचना भएका क्षेत्रलाई फरक नीतिगत ढाँचाबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

“स्मार्ट सिटी बनाउने जस्ता नारा भन्दा ढिलासुस्ती, भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण तथा दीर्घकालीन विकासका अवरोध हटाउने विषयमा मेरो प्राथमिकता रहनेछ,” उनले भने। आफू भक्तपुरबाट निर्वाचित भए पनि सांसद राष्ट्रकै हुने भन्दै उनले बनाउने नीतिको लाभ देशका अन्य जिल्लाले समेत पाउने दाबी गरे।

प्रतिस्पर्धाबारे बोल्दै खत्रीले सबै उम्मेदवार आफ्ना प्रतिस्पर्धी भएको स्वीकार गरे। “म कसैलाई हराउन होइन, जित्न मैदानमा उत्रिएको हुँ,” उनले भने। उनले संघीय संसद पुगेपछि संविधान संशोधनजस्ता विषयमा काम गर्ने लक्ष्य रहेको बताए। संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक रहेको उल्लेख गर्दै उनले संविधानका केही कमजोर प्रावधान सुधार्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रिय सभाको भूमिकाबारे टिप्पणी गर्दै उनले राष्ट्रिय सभा विज्ञहरूको थलो हुनुपर्ने संविधानको मर्म भए पनि पछिल्लो समय त्यसबाट विचलन भएको बताए। जनतामुखी विधेयकमा राष्ट्रिय सभाबाट अवरोध हुन नसक्ने उनको विश्वास छ।

करिब २० वर्ष पत्रकारिता गरेको अनुभव सुनाउँदै खत्रीले आफूले सधैं सर्वसाधारणका आवाज उठाउने प्रयास गरेको बताए। राजनीति गर्नेहरूले अपेक्षित रूपमा काम नगरेको महसुस भएपछि आफू राजनीतिमा आएको उनले उल्लेख गरे।

जेनजी आन्दोलनका मुद्दालाई रास्वपाले आत्मसात गरेको दाबी गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन, विभिन्न काण्डको छानबिन र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था युवापुस्ताको प्रमुख माग भएको बताए। ती मागहरू पूरा गर्न नीतिगत तहबाट सुधार आवश्यक रहेको उनको भनाइ छ।

भदौ २३ र २४ का घटनापछि राजनीतिक परिस्थिति परिवर्तन भएको विश्लेषण गर्दै उनले ती घटनाले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएको बताए। मतदातामा चेतना बढेको र विशेषगरी महिला तथा युवापुस्ताले निर्णायक भूमिका खेल्ने उनको विश्वास छ।

संभावित षड्यन्त्र र जालझेलप्रति सजग रहन आग्रह गर्दै उनले सरकार निष्पक्ष र प्रभावकारी रूपमा निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने बताए। रास्वपाले कुनै दलसँग तालमेल नगरी निर्वाचनमा जाने निर्णय गरिसकेको उनले स्पष्ट पारे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका