भक्तपुर । भक्तपुर जिल्लामा पछिल्लो एक महिनामा आपराधिक घटनामा वृद्धि देखिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुर ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत माघ महिनामा १५२ वटा आपराधिक मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा संलग्न ११० जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार माघ महिनामा दुई वटा जघन्य हत्याका घटना दर्ता भएका छन्। त्यस्तै लागुऔषधका आठ, बहुविवाहका एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवाको एक तथा आत्महत्याका दुई वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको छ भने फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तानका लागि कारागार पठाइएको छ। साथै ६७ लाख ४७ हजार रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले भक्तपुर नगरपालिका–३ मा ३८ वर्षीया महिलाको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरेको छ। यस्तै मध्यपुरथिमिमा आमाको हत्या अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई पनि कारागार पठाइएको छ।
महिला हिंसासम्बन्धी ३६ उजुरीमध्ये २६ वटा मिलापत्र भएका छन् भने १० वटा घटनाको अनुसन्धान जारी रहेको छ। हराएका ३२ जनामध्ये २३ जना फेला परेको प्रहरीले जनाएको छ।
यसैबीच सवारी दुर्घटनातर्फ माघ महिनामा २२७ दुर्घटनामा ५ जनाको मृत्यु भएको र ११५ जना घाइते भएको जानकारी प्रकाश जवेगु ले दिएका छन्। साथै ट्राफिक कारबाहीबाट ११ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।


