काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।
हिमपहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजको उडानमार्फत मंगलबार अपराह्न नेपाल ल्याइएको हो।
उनीहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने जनाइएको छ।
गत साउन १४ गते ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी यी तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पा गरी ६ नेपाली आरोहीको निधन भएको थियो। घटनामा अन्य चार जनाले समेत ज्यान गुमाएका थिए।
निधन भएका पुरबहादुर गुरुङ ‘युक्ता’को शव यसअघि नै साउन २१ गते नेपाल ल्याई स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो।
कीर्तिमानी आरोही निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने बताइएको छ। नवाङ थिन्डु शेर्पाको शव भने दुर्घटनास्थलको भौगोलिक कठिनाइका कारण हालसम्म संकलन गर्न नसकिएको जनाइएको छ।


