Sunday, November 8, 2026
Homeसामाचारब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः सभापति देउवा

ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः सभापति देउवा

पाटन (ललितपुर)। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिस गोर्खा सैनिकको इतिहास नेपालीहरूको लागि गर्वको विषय भएको बताएका छन्।

ब्रिटिस गोर्खा नागरिकता निरन्तरता अभियान समितिद्वारा आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता: ब्रिटिस गोर्खा वंशजको नागरिकता निरन्तरता’ नामक पुस्तक विमोचन गरेका थिए।

सो अवसरमा उनले गोर्खा सैनिकको साहस, अनुशासन, मेहनत र प्रतिबद्धताको विश्वभर प्रशंसा हुने गरेको उल्लेख गर्दै भने, “गोर्खा सैनिकले प्रथम र द्वितीय विश्वयुद्धमा बेलायत सरकारलाई ठूलो सहयोग गरेका थिए। आज पनि नेपालीहरू ब्रिटिस सेनामा सेवा गरिरहेका छन्। गोर्खा फौज नेपाल–बेलायत सम्बन्धको एउटा महत्वपूर्ण आधार हो।”

देउवाले ब्रिटिस गोर्खा सैनिकहरू समान पेन्सनलगायत अधिकारका विषयमा आवाज उठाउँदै आएको स्मरण गराउँदै भने, “उनीहरूले बेलायती सैनिकसरह सेवा–सुविधा पाउनुपर्छ भन्ने धारणा मैले बेलायती अधिकारीहरूसमक्ष राखेको छु।”

“म ब्रिटिस गोर्खा सैनिकले अन्य बेलायती सैनिकसरह सुविधा पाउनु पर्छ भन्ने पक्षमा स्पष्ट छु,” उनले थपे, “उनीहरूले नेपाली नागरिकताको निरन्तरताको माग गरिरहेका छन्। यस विषयमा राजनीतिक दलहरूबीच गम्भीर छलफल गरी निष्कर्षमा पुग्न जरुरी छ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वको परिवर्तित सन्दर्भअनुसार नेपालको नागरिकता सम्बन्धी नीति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान कानुनअनुसार नागरिकता बाबुको नामबाट मात्रै होइन, सन्तानले चाहेअनुसार आमाको नामबाट पनि लिन सकिने व्यवस्था गरिएको जानकारी गराए।

पुस्तकका लेखक डा. चन्द्रकान्त ज्ञवालीले ब्रिटिस गोर्खा सैनिकहरू भूतपूर्व रूपमा बेलायतका मानार्थ नागरिक भएका आधारमा उनीहरूका सन्तानलाई नेपाली वंशजको नागरिकताबाट वञ्चित गरिनु नहुने तर्क प्रस्तुत गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका