लन्डन । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ। प्यान्क्रियाजमा ट्युमर देखिएपछि काठमाडौँको शिक्षण अस्पताल (केएमसी), सिनामंगलमा उपचाररत धामीका लागि ६५ हजार ५ सय रुपैयाँ सङ्कलन गरिएको हो।
उक्त रकम महासङ्घ बेलायत शाखाका सचिव विश्वासदीप तिगेला र कार्यसमिति सदस्य वाचस्पति रेग्मीसमेतको टोलीले महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई केन्द्रीय कार्यालयमा पुगेर हस्तान्तरण गरेका छन्।
गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि अस्पतालमा उपचाररत धामीको शल्यक्रिया तथा त्यसपछिको सङ्क्रमणका कारण उपचार खर्च उच्च भएको थियो। पत्रकारिता बाहेक आयआर्जनको भरपर्दो स्रोत नभएकाले परिवारले आर्थिक अभावका कारण सहयोगका लागि अपिल गरेको थियो। सोही अपिलपछि महासङ्घ केन्द्रको समन्वयमा बेलायत शाखाले सहयोग सङ्कलन गरेको हो।
रकम ग्रहण गर्दै महासङ्घले संकटको घडीमा विदेशमा रहेका पत्रकारबाट प्राप्त सहयोगले ठूलो राहत पुग्ने जनाएको छ। साथै, सहयोगका लागि बेलायत शाखाप्रति आभार व्यक्त गरेको छ।
नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले यसअघि पनि आपत्–विपद्मा परेका पत्रकारहरूलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ।


