Tuesday, June 23, 2026
Homeसामाचारबेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : कोइराला

बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु स्थापित गर्न महत्वपूर्ण योगदान दिएको बताए।

बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उनले बेलायतले नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा स्वीकार गरेको कदमप्रति कृतज्ञता व्यक्त गरे। यो जानकारी उनका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएका हुन्।

नेता कोइरालाले भने, “आज यहाँहरूको उपस्थिति हाम्रो बलियो मित्रताको प्रमाण हो। शताब्दी लामो सम्बन्धका बारेमा यहाँ आएर चर्चा गर्न पाउँदा म अत्यन्तै खुसी छु। यहाँहरूको न्यानो आतिथ्यताका लागि धन्यवाद दिन चाहन्छु।”

दुई देशबीचको ऐतिहासिक सम्बन्ध अहिले जनस्तरको सहकार्यले अझ सुदृढ भएको उल्लेख गर्दै उनले नेपालको सार्वभौम संसद्को तर्फबाट बेलायत सरकारप्रति सहयोग र समर्थनका लागि आभार व्यक्त गरे।

उनले गोर्खा सैनिकहरूको योगदानको विशेष चर्चा गर्दै भने, “नेपालीहरूले गोर्खाका रूपमा बेलायती सेनामा दीर्घकालीन र विशिष्ट सेवा गरेका छन्। दुई विश्वयुद्धमा दुई लाखभन्दा बढी गोर्खा सैनिकले लडेका थिए, जसमा कतिको जीवन समेत गुम्यो। उनीहरूको बलिदानप्रति बेलायती सरकारले देखाएको सम्मानप्रति म खुसी छु।” साथै, गोर्खा सैनिकका जायज मागहरू यथाशीघ्र पूरा गर्न उनले आग्रह गरे।

संकटमा बेलायतको योगदान
नेता कोइरालाले नेपालमा आपतकालीन अवस्थाहरूमा बेलायतले पुऱ्याएको सहयोगको प्रशंसा गरे। उनले सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीका बेला बेलायतले पुऱ्याएको सहयोगलाई विशेष रूपमा स्मरण गरे।

उनले भने, “नेपाल जलविद्युत्, पर्यटन, कृषि, र वनउद्योगजस्ता क्षेत्रमा अपार सम्भावना बोकेको देश हो। इमानदार र परिश्रमी जनशक्तिका कारण नेपाल वैदेशिक लगानीका लागि उपयुक्त गन्तव्य हो।” नेपालले लगानीमैत्री वातावरण तयार गरेको उल्लेख गर्दै उनले बेलायती लगानीमा थप वृद्धि हुने आशा व्यक्त गरे।

उच्चस्तरीय भ्रमणको भूमिका
नेता कोइरालाले उच्चस्तरीय राजकीय तथा सरकारी भ्रमणहरू, व्यापारिक तथा सांस्कृतिक आदानप्रदानले नेपाल–बेलायत सम्बन्धलाई अझ बलियो बनाएको बताए। सांसदहरूको भ्रमण र विचार आदानप्रदानले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गरेको उनको भनाइ छ।

“विश्वशान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा छ। बेलायत संसदीय लोकतन्त्रको जननी हो। शान्ति र लोकतन्त्रका यी आधारभूत मूल्यहरूले हाम्रो सम्बन्धलाई अझ कसिलो बनाउँछन्,” नेता कोइरालाले भने।

लोकतन्त्र र विकासका चुनौती
लोकतन्त्रका लागि नेपालले भोगेको सङ्घर्षबारे चर्चा गर्दै उनले नेपाली कांग्रेसको भूमिकाको चर्चा गरे। “सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण संवैधानिक सरकार स्थापना कांग्रेसको नेतृत्वमा सम्भव भयो। संसद्ले हालै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको छ,” उनले भने।

साथै, उनले लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवादजस्ता प्रवृत्तिहरूले लोकतन्त्र र विकासलाई चुनौती दिएको उल्लेख गरे।

वातावरणीय सहयोगको अपेक्षा
नेता कोइरालाले हिमालयन पारिस्थितिक प्रणालीमा परेको प्रभाव न्यूनीकरण गर्न र वित्तीय सहयोगका लागि बेलायतसँग अपेक्षा व्यक्त गरे।

कार्यक्रममा बेलायतका उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमस र एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्टले पनि मन्तव्य दिएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका