म्याग्दी, ३१ भदौ । पहिरोका कारण अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार बिहान खसेको पहिरोले ७६ किलोमिटर सडक खण्ड अवरुद्ध भएको थियो।
नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर ठूला ढुङ्गा फुटाइएका र डोजरको सहायताले पहिरो पन्छाएर गएराति करिब १० बजे सडक खुलाइएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले जानकारी दिए। “सडक खुलेसँगै घाँसा र काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्,” उनले भने।
अवरुद्ध हुँदा कोरलानाकाबाट सामान ल्याउने कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेका ट्रक घाँसामै रोकिएका थिए। सोह्रश्राद्धका अवसरमा कागबेनी पुग्न आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक समेत सडक खुलेसँगै यात्रामा अघि बढेका छन्।
सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका बन्द भएपछि दसैंका लागि आवश्यक सामान कोरलानाकाबाट भित्र्याइने क्रम बढेसँगै बेनी–जोमसोम सडकमा सवारी चाप उच्च भएको छ।


