काठमाडौं । नेपाली कांग्रेसका संस्थापक, प्रजातान्त्रिक समाजवादका प्रणेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो।
बीपीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दै राणा शासनको अन्त्यमा महत्वपूर्ण भूमिका खेलेका थिए। २०१६ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। तर २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गर्दै पञ्चायती व्यवस्था लागू गरेपछि बीपी लामो समय जेल र भारत निर्वासनमा बस्न बाध्य भएका थिए।
निर्वासनपछि २०३३ साल पुस १६ गते उनले **’राष्ट्रिय एकता र मेलमिलाप’**को नीति लिएर स्वदेश फर्किएका थिए। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र राजनीतिक सहकार्यलाई जोड दिने उक्त नीति नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा स्मरण गरिन्छ।
तर, मेलमिलापका प्रवर्तक बीपीको स्मृति दिवसकै अवसरमा नेपाली कांग्रेसभित्र भने दुई अलग–अलग समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्। यसले पार्टीभित्र बढ्दो आन्तरिक विवादलाई थप उजागर गरेको छ।
संस्थापन पक्षले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु परिवर्तन तथा नयाँ राजनीतिक अभियानसम्बन्धी कार्यक्रम राखेको छ। अर्कोतर्फ, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गरेका छन्।
गत विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व र संगठनात्मक संरचनालाई लिएर विवाद चुलिएको छ। इतर पक्षले पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव अघि सारे पनि संस्थापन पक्षले ती सर्त स्वीकार गर्न अस्वीकार गरेको छ। सभापति गगन थापाले विधानविपरीत हुने कुनै पनि सहमति स्वीकार्य नहुने सार्वजनिक रूपमा स्पष्ट पारिसकेका छन्।
यसैबीच, पार्टीभित्र सहमतिको सम्भावना कमजोर बन्दै गएको नेताहरूको अभिव्यक्तिले बीपीको मेलमिलापको सन्देश विपरीत कांग्रेस थप ध्रुवीकरणतर्फ उन्मुख भएको टिप्पणी हुन थालेको छ।
राजनीतिसँगै बीपी नेपाली साहित्यका पनि विशिष्ट स्रष्टा हुन्। उनले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादलाई स्थापित गर्न महत्वपूर्ण योगदान दिएका छन्। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘मोदिआइन’, ‘बाबु, आमा र छोरा’ तथा ‘आत्मवृत्तान्त’ उनका चर्चित कृतिहरू हुन्।
बीपी स्मृति दिवसका अवसरमा देशभर विभिन्न राजनीतिक, साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना गरी उनको लोकतान्त्रिक विचार, प्रजातान्त्रिक समाजवाद र राष्ट्रिय मेलमिलापको दर्शनबारे चर्चा तथा विमर्श गरिँदैछ।


