काठमाडौं — हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका बिपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।
उनीहरू फ्लाइ दुबईको विमानमार्फत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु रोकिएको थिएन।
इजरायल सरकारले विपिनको रिहाइका लागि चलिरहेको अभियानलाई सशक्त बनाउन उनीहरूलाई त्यहाँ लैजाने निर्णय गरेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। बि.सं. २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन्। हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसके पनि उनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।


