Friday, May 8, 2026
Homeसामाचारबालेन शाहको उदय: बैंगलोरमा पढेका पूर्वविद्यार्थीलाई देखेर एनएमआईटी गर्वित

बालेन शाहको उदय: बैंगलोरमा पढेका पूर्वविद्यार्थीलाई देखेर एनएमआईटी गर्वित

बैंग्लोर । नेपालको राजनीतिक वृत्तमा अहिले एउटा नाम निकै चर्चामा छ— बालेन शाह। र्‍यापरबाट राजनीतिमा प्रवेश गरेर छोटो समयमै उदाएका उनी अब देशको भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चा हुन थालेका छन्।

धेरैलाई थाहा नहुन सक्छ कि शाहले भारतको बैंगलोरस्थित निट्ठे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) मा अध्ययन गरेका थिए। त्यहाँबाट उनले स्ट्रक्चरल इन्जिनियरिङ (सिभिल इन्जिनियरिङको एक विधा) मा एमटेक गरेका हुन्।

निर्वाचन आयोगको घोषणाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन जितेका छन्। उनले आफ्ना प्रमुख प्रतिस्पर्धी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। रास्वपाले चुनावमा उल्लेखनीय बहुमत हासिल गरेसँगै संसद्को तल्लो सदनमा प्रवेश गरेका बालेनको प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा एनएमआईटीका प्राध्यापकहरूले आफ्ना पूर्वविद्यार्थी नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उदाएको देखेर गर्व महसुस भएको बताएका छन्।

सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभी, जसले उनलाई ‘मेकानिक्स अफ डिफर्मेबल बडिज’ र ‘फाइनाइट एलिमेन्ट मेथड्स’ जस्ता विषय पढाएका थिए, शाहलाई अनुशासित र लक्ष्यप्रति केन्द्रित विद्यार्थीका रूपमा सम्झन्छन्। उनका अनुसार शाह सन् २०१६ मा अन्य दुई नेपाली विद्यार्थी सुनिल लम्साल र प्रवीण श्रेष्ठसँगै उक्त इन्स्टिच्युटमा भर्ना भएका थिए र उनीहरू कलेजको पहिलो अटोनोमस ब्याचका विद्यार्थी थिए।

प्राध्यापक श्रेयसका अनुसार शाह समयपालक, अनुशासित र शान्त स्वभावका विद्यार्थी थिए। “उनी यो उचाइसम्म पुगेको देख्दा हामी धेरै खुसी छौँ। बालेन्द्र शान्त स्वभावका थिए,” उनले भने।

उनका अनुसार शाहभित्र र्‍यापरको प्रतिभा भए पनि उनले कलेज परिसरमा त्यो पाटो प्रायः देखाउँदैनथे।

प्राध्यापकहरूले शाहले विद्यार्थी जीवनमा कुनै स्पष्ट राजनीतिक झुकाव देखाएको सम्झना नगरेको बताएका छन्। बरु उनी पढाइप्रति निकै गम्भीर र जिज्ञासु विद्यार्थीका रूपमा चिनिन्थे।

“उनीहरू धेरै प्रश्न लिएर आउँथे र कहिलेकाहीँ बेलुकासम्म बसेर विषय बुझेर मात्र फर्किन्थे,” प्राध्यापक श्रेयसले स्मरण गरे।

एनएमआईटीका उपाध्यक्ष सन्दीप शास्त्रीले शाहलाई संस्थाको गौरवपूर्ण पूर्वविद्यार्थी भन्दै उनको उदयलाई विश्वविद्यालयका लागि ठूलो सम्मानको विषय बताएका छन्।

उनका अनुसार शाह मेहनती र अनुशासित विद्यार्थी थिए, जसले आफ्नो काम समयमै पूरा गर्ने, इन्टर्नसिप राम्रोसँग गर्ने र अरू विद्यार्थीका लागि पनि प्रेरणाको स्रोत बन्ने गरेका थिए।

राजनीतिमा आउनुअघि शाह नेपाली र्‍याप संगीतका कारण निकै लोकप्रिय भएका थिए। तर उनका प्राध्यापकहरूका अनुसार उनले कलेजमा रहँदा कहिल्यै सार्वजनिक रूपमा र्‍याप प्रस्तुति दिएका थिएनन्।

उनको शैक्षिक रुचि भने विशेषगरी भूकम्प इन्जिनियरिङतर्फ केन्द्रित थियो। उनले यसै विषयसँग सम्बन्धित परियोजनामा काम गरेका थिए र नेपालमा ठूलो भूकम्प गएको समयतिर यसै क्षेत्रसँग सम्बन्धित इन्टर्नसिप पनि गरेका थिए।

र्‍यापरबाट काठमाडौँ महानगरपालिकाका मेयर हुँदै राष्ट्रिय स्तरको नेताका रूपमा बालेन शाहको राजनीतिक उचाइ बढ्दै जाँदा एनएमआईटीले कुनै दिन उनलाई कलेज परिसरमा स्वागत गर्न पाउँदा खुसी लाग्ने जनाएको छ।

उपाध्यक्ष सन्दीप शास्त्रीले भने, “यदि उनी भारत भ्रमणमा आए भने हामी अवश्य पनि उनलाई यहाँ आमन्त्रण गर्न चाहन्छौँ। यो हाम्रो लागि सम्मान र हाम्रा विद्यार्थीहरूका लागि प्रेरणाको विषय हुनेछ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका