Saturday, May 9, 2026
Homeराजनीतिबालेन नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्दैछन्: अन्तर्राष्ट्रिय सञ्चार माध्यम

बालेन नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्दैछन्: अन्तर्राष्ट्रिय सञ्चार माध्यम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका छन्।

अन्तिम मत परिणाम अनुसार बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७ सय ३४ मत मात्रै ल्याएका छन्। करिब ५० हजार मतान्तरको यो जितलाई नेपालको पछिल्लो राजनीतिक इतिहासकै उल्लेखनीय परिणामका रूपमा हेरिएको छ।

जेनजी आन्दोलनपछि भएको यस निर्वाचनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समेत ध्यान खिचेको छ। बालेनको जित र रास्वपाको चुनावी शैलीबारे विभिन्न अन्तर्राष्ट्रिय मिडियाले विशेष समाचार प्रकाशित गरेका छन्।

बेलायती समाचार एजेन्सी रोयटर्सले ‘नयाँ शैलीको चुनावी अभियानले बालेन शाहलाई सत्ताको नजिक पुर्‍याउँदै’ शीर्षकमा समाचार प्रकाशित गर्दै रास्वपाको चुनावी रणनीतिलाई परम्परागत राजनीतिमाथि चुनौतीका रूपमा विश्लेषण गरेको छ। युवामुखी रणनीति, सामाजिक सञ्जालको व्यापक प्रयोग तथा विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगले यो अभियान देशभर चर्चित बनेको उल्लेख गरिएको छ।

रोयटर्सका अनुसार पार्टीभित्रको ‘रिसर्च, स्ट्राटेजी एन्ड डकुमेन्टेशन’ विभागले चुनावी अभियानको मुख्य योजना तयार पारेको थियो। ११ सदस्यीय बोर्डको नेतृत्वमा सञ्चालन भएको उक्त विभागअन्तर्गत करिब ३०० कार्यकर्ता तीन राष्ट्रिय समूहमा विभाजित भएर रणनीति निर्माण, सभा–र्‍याली आयोजना, अनलाइन सामग्री निर्माण र जनप्रतिक्रिया संकलनमा सक्रिय रहेका थिए।

बालेनले चुनावी अभियानका क्रममा प्रत्येक आठ दिनमा एक प्रमुख सम्बोधन गर्ने रणनीति अपनाएका थिए। यसले सामाजिक सञ्जालमार्फत सन्देश व्यापक रूपमा फैलाउन मद्दत पुगेको बताइएको छ। पार्टीको ६६० सदस्यीय सामाजिक सञ्जाल टोलीले ती कार्यक्रम र भाषणलाई देशभर प्रचार गर्ने काम गरेको थियो।

बीबीसी विश्वसेवाले पनि बालेनको उदयलाई विशेष रूपमा प्रस्तुत गर्दै उनलाई ‘र्‍यापरदेखि राजनेता’ बनेको नेताका रूपमा चित्रण गरेको छ। ‘र्‍यापर–राजनेता बालेन्द्र शाह नेपालका सम्भावित प्रधानमन्त्रीतर्फ अघि बढ्दै’ शीर्षकमा प्रकाशित समाचारमा नेपालको राजनीतिमा नयाँ परिवर्तनको संकेत देखिएको उल्लेख गरिएको छ।

चुनावी अभियानका क्रममा गाडीको सनरुफबाट समर्थकहरूसँग हात मिलाउँदै गरेको बालेनको तस्वीर समेत प्रकाशित गर्दै बीबीसीले यसपटकको निर्वाचनले नेपालको राजनीतिक दिशामा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना औंल्याएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले पनि ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा पराजित गर्दै बालेन विजयी भएको समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ। त्यस्तै भारतीय समाचार एजेन्सी एएनआईले ओलीले बालेनलाई विजयको बधाई दिएको उल्लेख गर्दै अब उनी प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको विश्लेषण गरेको छ।

एशोसियटेड प्रेस (एपी) ले भने बालेन शाहको उदयलाई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रूपमा व्याख्या गरेको छ। ओलीभन्दा झण्डै चार गुणा बढी मत प्राप्त गर्दै हासिल गरेको यो विजयलाई परम्परागत राजनीतिक दलप्रति बढ्दो जनअसन्तुष्टिको परिणामका रूपमा समेत हेरिएको छ।

विश्लेषकहरूका अनुसार बालेनको यो जितले नेपाली राजनीतिमा नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको संकेत दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका