महेन्द्रनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित मौन चुनावी अभियान सम्पन्न गरेका छन्। कैलालीको लम्कीबाट सुरु भएको अभियान आज टुंग्याउँदै उनको टोली कर्णालीतर्फ प्रस्थान गरेको छ।
कैलाली र कञ्चनपुरका तराई जिल्ला तथा डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटी गरी सात पहाडी जिल्लामा अभियान सञ्चालन गरेका बालेनले सार्वजनिक मञ्चबाट कुनै सम्बोधन नगरी मौन रूपमा समर्थक र पार्टी कार्यकर्तामाझ उपस्थित भए। उनले जिल्लास्थित पार्टी कार्यालय तथा उम्मेदवारका सम्पर्क कार्यालयमा पुगेर घण्टी बजाउँदै शुभेच्छुकहरूसँग भेटघाट गरे।
चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं. २ लम्कीबाट अभियान थालेका बालेनले सो क्षेत्रबाट रास्वपाका युवा नेता केपी खनाललाई उम्मेदवार बनाइएको छ। खनाल बालेन निकट युवा नेताका रूपमा परिचित छन्। अभियानका क्रममा बालेनले उम्मेदवारहरूसँग स्थानीय समस्या, मतदाता र पार्टीको अवस्थाबारे छोटो छलफल गरे पनि भाषण नगरेको रास्वपाले जनाएको छ।
लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको पुनर्बास, शुक्लाफाँटा र महेन्द्रनगर पुगेका बालेनले विभिन्न स्थानको अवलोकन गर्दै डोट्याली भाषामा सामाजिक सञ्जालमा तस्बिर र स्टाटस पोस्ट गरेका थिए, जुन व्यापक रूपमा भाइरल भएका थिए।
रास्वपाका नेता हरिश भट्टका अनुसार बालेन हाल कालिकोटको मान्म पुगेका छन्। उनले निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै सार्वजनिक सम्बोधन नगरेको स्पष्ट पारे। भट्टले सुदूरपश्चिम भ्रमणले पार्टी कार्यकर्ता र समर्थकमाझ उत्साह बढाएको बताए।


